भारतमा एक महिलाले पेट जोडिएका जुम्ल्याहा बच्चा पाएकी छिन् । पेट जोडिएका
जुम्ल्याहा बच्चा जन्मिनु आश्चर्य त हो नै, अझ ठूलो आश्चर्य त के भने उनले अस्पताल
नै नगईकन घरमै सामान्य तरिकाले यस्ता बच्चा पाइन् ।
भारतको महाराष्ट्रस्थित राइगाड जिल्लाको पानवेलमा
बस्ने शलु पवार नामकी ती महिलाले केही दिनअघि मात्र यस्तो जुम्ल्याहा बच्चा घरमै जन्माएकी
हुन् । शलुका श्रीमानले गाडी चलाएर परिवारको गुजारा गरेका थिए र श्रीमतीलाई सुत्केरी
हुने बेला निकै पीडा भएपनि उनीसँग अस्पताल लग्ने पैसा नभएकाले घरमै सुत्केरी गराए ।

सामान्यतया यस्तो अंग जोडिएका जुम्ल्याहा बच्चा महिलाले सामान्य रुपमा पाउन सक्दैनन्
र शल्यक्रिया गरेर निकाल्नुपर्छ । तर शलुले भने यो मान्यतालाई झुट सावित गरिदिइन् ।
बिचरीलाई न त आफ्नो पेटमा जोडिएका जुम्ल्याहा बच्चा छन् भन्ने थाहा थियो, न त थाहा
भएरै पनि अस्पताल जाने औकात थियो । तर जे होस् दुखीसँग भगवान हुन्छ भन्ने उक्तिलाई
चरितार्थ गर्दै उनले सकुसल रुपमा जोडिएका जुम्ल्याहा पाएकी छिन् ।
तर यी पेट जोडिएका जुम्ल्याहालाई अब के गर्ने ? कसरी उपचार गर्ने ? उनी र उनको
श्रीमानलाई केही थाहा छैन । तर खुसीको कुरा के भने भारतमा यस्ता अंग जोडिएका जुम्ल्याहा
बच्चालाई सरकारले नै उपचार गर्नुपर्ने सर्वोच्च अदालतले अघिल्लो हप्ता फैसला गरिदिएको
छ । अब सायद यी बच्चाहरुले पनि सरकारी उपचार पाउँछन् होला । स्मरण रहोस् विश्वमा हरेक
४ लाख जिवित जन्मने शिशुमा १ जोडि जुम्ल्याहा यस्ता जोडिएका हुन्छन् ।







