काठमाडौं, पौष २८ – एक अमेरिकी प्रहरी पेस्तोलमा लाग्ने सात राउन्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। अमेरिकी प्रहरी जोन डेभिड रुबेन लियोनार्ड शनिबार सुरक्षाजाँचका क्रममा विमानस्थलबाट पक्राउ परेका हुन्।
वासिङटन घरठेगाना भएका लियोनार्ड अलास्का, सिरा, पोल्यान्ड, टोकियो, बैंकक, क्वालालम्पुर हुँदै एअर मलेसियाको उडानमार्फत शुक्रबार नेपाल आएका थिए। एक रात होटेलमा बिताएपछि शनिबार बिहान साढे आठ बजे तारा एअरबाट लुक्लाका लागि प्रस्थान गर्ने क्रममा प्रहरीले उनको झोला खानतलासी गर्दा म्यागेजिनमा लोड गरिएको सात राउन्ड गोली फेला परेको थियो। ३० दिनको पर्यटक भिसामा आएका उनको नेपाल बस्नेम्याद माघ २४ गतेसम्म छ।
सन् २००६ जनवरी ३ मा जारी भएको अमेरिकी रादहदानी नम्बर ०७७७६५६० वाहक लियोनार्डले आफू अमेरिकी प्रहरी भएको बताएका छन् । स्रोतका अनुसार उनीसँगै अन्य आठ अमेरिकी प्रहरी पनि आएका छन्। हिमाल आरोहणका प्रशिक्षकसमेत रहेका उनले आफू लुक्लामा आरोहण प्रशिक्षण दिन आएको बताए।
गौशाला वृत्तमा राखिएका उनले भने, ुम अमेरिकी प्रहरी हुँ, मेरो ब्यागमा गोली थियो भन्ने मलाई थाहा थिएन, डिउटीका क्रममा ब्यागमा राखिएको थियो, भुलेर त्यही ब्याग बोकेछु।ु उनले नेपाल धेरै सुन्दर देश भएको बताउँदै यो आफ्नो दोस्रो भ्रमण रहेको जानकारी पनि दिए।
नेपाल प्रहरीले भने लियोनार्डमाथि सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गराएको छ। महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी सुबोध घिमिरले भने, “हतियार कसरी आयो भनेर अनुसन्धानका लागि सार्वजनिक अपराधमा म्याद थपिएको हो, हतियारको पुष्टि हुन सकेन भने कानुनअनुसार थप मुद्दा चलाउँछौं ।”








